चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले १ साता यता जिप, कार जस्ता सवारी साधनको आयात उकालो लागेको बताए ।
साताअघि सम्म दैनिक औसत २० वटा सम्म जीप,कार जाँचपास हुने गरेकोमा हालका दिनहरुमा भने दैनिक ६० देखि ८० वटा सम्म जीप, कार जाँचपास भइरहेको उनले बताए ।हाल दैनिक औसत ७८ करोड रुपैयाँ राजश्व यो भन्सारले संकलन गरिरहेको पौडेलले बताए । जुन साविकको भन्दा झण्डै डेढ गुणा बढी हो ।
वीरगन्ज नाका मुलुककै सर्वाधिक बढी सवारी साधन आयात हुने नाका हो । भारत तथा तेस्रो मुलुकमा निर्मित सवारी साधन पनि यो नाका हुँदै आयात हुने गरेका छन् ।