बागलुङको जैमिनी नगरपालिका-१ की ९० वर्षीया बसुन्धरा शर्माको यस वर्षको दशैँ खल्लो भएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दशैँका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएका हुन् ।
बसुन्धरा निसन्तान हुन् । विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि उनी एकल जीवन बिताउँदै आएकी छन । घरमा दुई चार पैसा कमाइदिने कोही छैनन् ।
गत वर्षको बर्खामा पहिरोले घर भासिएपछि जैमिनी नगरपालिकाले ओत लाग्ने घर बनाइदिएको छ । तर निमेक गरेर खाने उमेर छैन । पर्दाको घडीमा काँध थाप्ने छोराछोरी छैनन् । बिहान बेलुकी हातमुख जोर्ने सहयोगी सामाजिक सुरक्षा भत्ता हो । यस वर्षको दशैँमा भत्ता नपाएपछि उनी निरास बनेकी छन् ।
स्थानीय तहबाट ढिला गरी रकम पठाउँदा बाँड्ने समय नपुगेको बैंक कर्मचारीको भनाइ छ । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुनेलगायतका कारणले लक्षित समूह भत्ता पाउनबाट वञ्चित भएका हुन् ।
नगरपालिकाले आइतबार साँझ मात्रा चेक पठाएको गरिमा विकास बैंक बागलुङ शाखाका प्रमुख ओमप्रकाश शर्मा पौडेलको भनाइ छ । ढिला गरी चेक प्राप्त हुँदा दशैँअघि भत्ता बाँड्न समस्या भएको हो । सम्झौताअनुसार स्थानीय तहले १५ दिनअघि चेक दिनुपर्छ । चेक प्राप्त भएको १५ दिनभित्र लाभग्राहीको खातामा रकम जम्मा हुनुपर्ने शाखा प्रमुख पौडेलले बताए ।
बागलुङको काठेखोला गाउँपालिकाको अधिकांश वडामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भए पनि दशैँअघि नै सबैले भत्ता पाउनेगरी १५ असोजमै बैंकमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले बताए । बैंक तथा वित्तीय संस्थामार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुई दिन समय लाग्ने गरेको बैंक कर्मचारीको भनाइ छ ।