केहि वर्ष अघिको कुरा हो, नेपाली राष्ट्रिय दैनिक पत्रिकाको प्रिन्टमा देखिने विदेश अध्ययनका विज्ञापनहरू देख्दा कत्तिको पारो तातेर आउँथ्यो!
दिनहुँ जसो देखिने विज्ञापनका कन्टेन्ट देखेर एक मित्र पत्रकारले व्यंग गर्दै भन्नुहुन्थ्यो," हैन तपाईहरुको व्यवसायीहरुको विज्ञापन ले त नेपालका कलेजका विज्ञापनलाई पनि ओझेल पारिसके।" परिस्थिति पनि कस्तो थियो भने एउटा प्रमुख दैनिकको तेस्रो र चौथौ पेज हैन भने स्पोर्ट्स पेज मै विज्ञापन दिन ३,४ दिन कूर्नु पर्ने हुन्थ्यो।
तर अचेल सामाजिक सञ्जालको व्यापकता का कारण शैक्षिक परामर्श व्यवसाय को प्रचार सामग्रीको लागि फेसबुक, इन्स्टाग्राम आदि उपयुक्त माध्यम बनेका छन्। सो सँग सँगै अनेकन् विकृतिले जरो गाड्ने आंकलन पनि सजिलै गर्न सकिने भएको छ।
विद्यार्थी भर्नामा आकर्षित गर्न गरिएका यस्ता प्रचारबाजी ले चरम तर अस्वस्थ प्रतिस्पर्धा लाई निम्ता दिने पक्का छ। जसरी पनि विदेश जानै पर्ने र जसरी भए पनि पठाइदिन्छु भन्ने दुवै वर्ग यो समाजमा भेटिन्छन्। यी दुवै वर्गको भेट गराइदिने दह्रिलो माध्यम सामाजिक सञ्जाल भएको छ।
एउटा म:म पसलेले आज यति प्लेट म:म बेचे भनेर कहिल्यै फेसबुकमा राख्दैन। एउटा उच्च माध्यामिक विद्यालय ले आज यति भर्ना गरें भनेर कहिल्यै आफ्नो फेसबुकमा लेखेकाे देखिएको छैन तर अन्तराष्ट्रिय शिक्षाका सम्बाहक, दूत अझ भनौँ भर्ना सहायक अर्थात् कन्सल्ट्यान्टहरुको प्रचारशैली अचम्मको छ!
पहिले पहिले भिषा भइसकेका विद्यार्थीहरुलाई एकमुष्ट विदाई कार्यक्रम गर्ने, प्री डिपार्चर ब्रिफिङ गर्ने काम गरिन्थ्यो भने अचेल भिसा भएका विद्यार्थीहरूको फोटो छुट्टा छुट्टै डिजाइन बनाएर हाल्ने, अझ त्यो भन्दा बढी एडमिसन कनफर्म भएकामा प्रचारबाजी गर्ने गतिविधि ले प्रोत्साहन पाउँदैछ।
अलि पछी विद्यार्थीको अफर लेटर पाउनुलाई पनि ठूलो प्रचार सामग्रीको रुपमा सामाजिक सञ्जाल मा भेटिए आश्चर्य नमाने हुन्छ। यी सबै घटना परिघटना ले शैक्षिक परामर्श ब्यवसायीहरुले के लुकाउने र के देखाउने भन्ने बिर्सिंदै गएको भान् हुन्छ।
वैश्विक महामारी कोभिड १९ ले दुई वर्ष देखि थलिएको शैक्षिक परामर्श क्षेत्र मा यो व्यवसाय सङ्ग जोडिएका लगानीकर्ताहरु ठूलो क्षति व्यहोरेका कारण जोखिममा छन्। खुल्न लागेका र केहि महिनापछि खुल्ने शैक्षिक गन्तव्यमा बिद्यार्थी पठाउन संयमित भएर लाग्न चाहने कति परामर्श व्यवसायीहरु यस्तो अवस्थामा देखिएको अवाञ्छित प्रचारवाजी ले दिक्क भएका पनि छन्।
दुई वर्ष देखि इच्छित गन्तव्य खुल्ला र जाउँला भन्ने पर्खाइमा बसेका बिद्यार्थीहरु र आफ्ना छोरा छोरीहरूको उज्वल भविष्यका लागि विदेश पठाउन चाहने अभिभावकहरू रनभुल्लमा परेका छन्।
शैक्षिक परामर्श मा विशेषत विदेश अध्ययनका लागि विद्यार्थीहरूको शैक्षिक, आर्थिक र सामाजिक परिस्थितिको ठोस विश्लेषण गरि उनीहरूको विदेशमा करियर बनाउने हो भने एकथरि वा भनौं पढेर नेपाल मैं करियर बनाउने हो भने अर्कोथरी विश्लेषण गर्नुपर्ने हुन्छ।
नेपालमा फर्केर काम गर्न चाहने हरुका लागि अवको ५ वर्षपछिको माग हुने विषय अध्ययनमा प्रोत्साहन गर्नुपर्ने हुन्छ भने विदेशमै काम गर्ने चाहना भएका विद्यार्थीहरुका हकमा लक्षित गन्तव्य देशको रोजगारीको बारेमा पनि तथ्य तथ्याङ्क विश्लेषण गर्नुपर्ने हुन्छ।
सो काम कन्सल्ट्यान्ट काे हो। पढ्ने विषय, क्रेडिट आवर, अफिलिएसन, समकक्षता, निर्धारित समय, जब प्लेसमेन्ट, पोस्ट स्टडी अधिकार, अन्य कुनै अधिकार सहित अन्तराष्ट्रिय विद्यार्थीहरुलाई आकर्षित हुने सम्पूर्ण नियम कानुनको बारेमा प्रष्ट सङ्ग विद्यार्थी र तिनका अभिभावकलाई बुझाउन सक्ने कन्सल्ट्यान्टलाई सम्पर्क राखे बिद्यार्थी र अभिभावक ढुक्क हुन सक्छन्।
बिद्यार्थी भिसा एउटा परिणाम हो, प्रारम्भिक परिणाम! सम्पूर्ण सफलता भने हैन भन्ने कुरा बिद्यार्थी र अभिभावकले जति छिटो बुझ्न सक्यो त्यति नै छिटो बजारको अस्वस्थ प्रतिस्पर्धा रोकिन मद्दत पुग्छ। विद्यार्थीले भिसा पाइसकेको खबर सामाजिक सञ्जाल मा यत्रतत्र छरिएर खुशीको सञ्चार हुनु एउटा कुरा हो, तर त्यो भन्दा महत्वपूर्ण कुरा धेरै छन्।
गन्तव्य देश पुगेको विद्यार्थी लाई पढाइको लय समात्न सजिलो हुँदै छ कि छैन? पार्ट टाइम काम पायो की पाएन? पढ्न खोजेको विषय उपयुक्त छनौट भयाे कि भएन? आदि अनेकन् प्रश्नहरूको उत्तर यदि सकारात्मक भएर आयो भने दोस्रो परिणाम सकारात्मक भएको मान्नु पर्छ।
सबैभन्दा सफलतम परिणाम बिद्यार्थी ले रोकेको समय मैं डिग्री सकेर जब मार्केट ले डिमान्ड गरेकै विज्ञता आफूसँग भयाे भने सहि परामर्श मान्नु पर्दछ। त्यसको लागि कुन परामर्शदाता राम्रो भन्न कि त ४/५ वर्ष अघि गएका विद्यार्थीहरुलाई सोध्नुपर्छ कि भने ४/५ वर्ष कुर्नु पर्छ।
शैक्षिक परामर्श व्यवसाय लाई नियमन र अनुगमन गर्ने सरकारका अनेकन निकायहरु छन् तर यो क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने हो भने पहिलो भूमिका व्यवसायीको नैं हुन्छ। सेलर भन्दा काउन्सेलर काे भूमिका महत्वपूर्ण हुन्छ भन्नेकुरा बुझ्न सक्ने हो भने परामर्श क्षेत्रको गरिमा बढ्न बेर लाग्दैन।
आफूलाई कुनै खास कलेज वा विश्व विद्यालयको मार्केटिङ एजेन्ट भन्दा माथि उठाएर आफ्नो अगाडि बसेका भाइ बैनीहरुलाई उनीहरूको शैक्षिक, आर्थिक र सामाजिक आवश्यकता अनुरूप परामर्श दिन सके यो क्षेत्रले शाख जोगाउन सक्थ्यो कि!
लेखक राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष हुन्