प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउने बताएका छन् ।
शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा उनले बेमौसमी बाढीबाट मुलुकभर भएको क्षतिको विवरण सङ्कलन गरेर पीडितलाई राहत र पुनःनिर्माणमा जुट्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले कञ्चनपुरको महाकाली तटीय क्षेत्र र दोधारा–चाँदनीमा विगतमा पनि नदी कटानको समस्या रहेको चर्चागर्दै कैलाली कञ्चनपुरमा धानबालीमा ठूलो क्षति पुगेको बताए । निरीक्षणपछि प्रधानमन्त्री देउवालाई जिल्ला सुरक्षा समितिले बाढीको क्षति र वस्तुस्थितिका बारेमा जानकारीसमेत गराएको छ ।
सुदूरपश्चिमको बाढीपहिराको क्षति र पीडितको अवस्था बुझ्न बिहीबार यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी र डडेल्धुरामा निरीक्षण गरेका थिए । उनले आज कैलालीमा पनि बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।