नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ ।
बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ ।अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।
विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा छ ।
पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको मागसमेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्यरुपमा दियो पनि बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् । केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउँछन् ।
कुमालेले तयार भएको पाला थोकविक्रेता व्यापारीलाई बिक्री गरिन्छ । जिल्लामा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङवेशी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीलेसमेत लिन आउने गरेको जनाइएको छ ।