प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएको छ ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेको बेला कांग्रेसले बैठक रोक्न माग गरेको हो ।
कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो । तर, स्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि बैठक रोक्न माग गरिएको हो । कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न आशंका विपक्षीमा छ ।
कांग्रेसले बैठक रोक्न माग गरेपछि सत्तारूढ दल नेकपा एमालेले पनि बैठक रोक्दै कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि राखेको प्रस्तावमा आज मतदान हुने कार्यसूची छ ।
दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यले दसैँअघि नै असोज १० मा विश्वासको मत लिनुपर्ने प्रतिपक्षीहरूले दबाब दिँदै आएका थिए । भदौ ९ मा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको थियो ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश–१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।