प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।
केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिराका कारण सुदूरपश्चिम र प्रदेश नं १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे ।
उनले आफू काठमाडौं फर्किनासाथ आवश्यक क्षतिपूर्तिका लागि निर्णय गर्ने बताए । विपद् ढोल बजाएर नआउने भएको तर अचानक आइदिएका कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि केही न केही छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले बताए ।
वर्तमान सरकारले विपद्बाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडाँं फर्किएपछि छिटै ल्याइने उनले आश्वासन दिए ।
बाढीबाट अर्बौंको क्षति भएको र यसलाई निराकरण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना नबनाइ नहुने उनले बताए । अहिले मानवको जीवन बचाउनु, उद्धार गर्नु, विस्थापित भएका व्यक्तिलाई स्थापित गर्नु, बसोबास नभएका व्यक्तिका लागि बसोबासको व्यवस्था गर्नु मुख्य उद्देश्य रहेको देउवाले उल्लेख गरे ।
उनले बाढीले बिघौँबिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागिसमेत समस्या हुने भएका कारणले छट्टै राहतको प्याकेज घोषणा गर्ने बताए ।
प्रधानमन्त्री देउवाले आज इलाम र पाँचथरमा क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको छ । उनका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत छन् ।