स्थानीय निकायमा विजयी जनप्रतिनिधिहरुको अन्तिम ‘कारोवार वर्ष’ चलिरहँदा आगामी निर्वाचनका लागि तराई–मधेशमा चुनावी चहलपहल शुरु भएको छ ।
दशैं, तिहार तथा छठपर्वको शुभकामना आदान–प्रदानको बहानामा मधेशका गाउँदेखि शहरसम्म कार्यकर्ता भित्र्याउने र संगठन निर्माण गर्न विभिन्न राजनितिक दलहरु जोडतोडका साथ लागिपरेका छन् ।
नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनका लागि वडा ईकाईदेखिकै पार्टी संरचनाको नेतृत्व चयन भइरहँदा शनिवार मात्रै नेकपा एमालेले दैशैभरिका वडाहरुको अधिवेशन शुरु गरेको छ ।
मधेश केन्द्रीत जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीका साथै माओवादी केन्द्र र राप्रपालगायतका पार्टीहरुसमेत चुनावी अभियानमा सक्रिय छन् ।
लगभग सबै पार्टीले पार्टी अधिवेशनको नाममा आयोजना गरेको सभाहरुमा चुनाव केन्द्रित योजना तथा नितिहरुको बारेमा भाषण गर्ने गरेका छन् ।
चुनाव केन्द्रित भएरै विभिन्न पार्टीका नेताहरुले संसदीय कोष, संघीय तथा प्रादेशिक योजना र स्थानीय तहबाट सञ्चालित योजनाहरुहरुको आ–आफ्नो क्षेत्रमा उद्घाटन तथा शिलान्यास गर्न व्यस्त छन् ।
चाडवाडको मौका छोपेर केन्द्र र प्रादेशिक राजधानीबाट जिल्ला झरेका नेताहरु आफ्नो क्षेत्रमा छिरेका छन्, कोही शुभकामना आदान प्रदान गर्दैछन् भने कोही संगठन विस्तार र पार्टी प्रवेश गराइरहेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव केहि दिन अगाडी आफ्नो गृहजिल्ला सप्तरी पुगेका छन् । सप्तरीमा उनले जनता आवास कार्यक्रमबाट दलितहरुको लागि निर्माण भएको घरहरु वितरण गरे । सप्तरीबाट रौटहट पुगेका यादवले त्यहाँको यमुनामाई नगरपालिकामा पार्टी प्रवेश गराए ।
लोसपाका नेता तथा पुर्वमन्त्री जितेन्द्र सोनल पनि गृह जिल्ला बारामै छन् । बारामा उनले सदस्यता अभियान शुरु गराएका छन् भने जिल्लाको पचरौता नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि आएका सयौं जनालाई लोसपामा प्रवेश गराएका छन् ।
नेकपा एमाले प्रदेश २ कि अध्यक्ष ज्वाला साह पनि करिब एक सातादेखि प्रदेशैभरिको संगठन विस्तार तथा सुदृढिकरणमा सक्रिय छन् । उनले शनिवार बारा जिल्लाका करिव १ दर्जन वडाको अधिवेशनमा भाग लिइन् ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीसमेत चुनावी रणनीतिमा सक्रिय छ । जनमतले भदौदेखि कार्तिकसम्म ६ लाख सदस्यता वितरण गर्ने उद्देश्यले ‘मधेश कभरेज अभियान’ चलाईहेको पार्टीका महासचिव चन्दन शिंहले जनाए ।
यता, प्रदेश २ को केही जिल्लाहरुमा सदस्यता विवादका कारण स्थगित रहेको नेपाली कांग्रेसको वडा, पालिका तथा क्षेत्र अधिवेशन पनि शुरु भएको छ । पार्टीको आन्तरिक अधिवेशनका साथै आगामी निर्वाचनको तयारी समेत सोहीबाट शुरु भएको कांग्रेसी नेताहरुको भनाइ छ ।