फिदिम नगरपालिका ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लेटाङ मोरङका प्रज्वल मगर, कुम्मायक ३ पाँचथरका ३४ वर्षीय प्रमिला देवान र उनका ७ महिने छोरा निश्चल देवान रहेका छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको हेलिकप्टर बाट अन्यत्र अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत ११ जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । जिल्ला अस्पताल सहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत अन्य घाइतेलाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।
पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा भएको थियो ।
अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार ६४ जना सबै यात्रुहरु घाइते भएका थिए ।