जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मलुकलाई शान्ति, विकास एवं समृद्धिको वाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन् ।
जसपाका अध्यक्ष यादवले पार्टीको जनकपुरधाम नगर कमिटिले आज जनकपुरधाममा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेका शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अहिलेको निर्वाचन प्रणाली निक्कै खर्चिलो भएकाले राम्रो मान्छे राजनीतिक आउन कठिन भएको बताए ।
उनले निर्वाचन आउन बाँकी नै भएकाले बेलामा ठूला ठेकेदार तथा पैसावालाहरुको बोलवाला बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै राम्रो तथा शुद्ध आचरण एवं विचार भएको मान्छे राजनीतिमा टिक्न कठिन हुने बताए ।
मिश्रित निर्वाचन प्रणाली देशका लागि हितकर नभएको र खर्चिलो निर्वाचनले मुलुकमा महंगी बढाएर आम जनता पीडित बनाउने जसपाका अध्यक्ष यादवले बताए ।
उनले प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन आवश्यक भएको बताए ।
उनले स्थानीय तहलाई स्वतन्त्र रहन दिनुपर्ने तथा प्रदेशलाई अधिकार सम्पन्न बनाएर दलीय आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरेपछि मात्र देशको आर्थिक, सामाजिक विकास हुने दावी गरे ।