सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरूबीच छलफल सकिएको छ ।
सो क्रममा १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग पछिल्ला विवादबारे छलफल गरेका हुन् । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
छलफलपछि १४ जना न्यायाधीशहरू फेरि सामुहिक छलफलमा जुटेका छन् । त्यसपछि पछिल्ला विवादबारे निर्णय गरिने छ । उनीहरूले आजको इजलासमा पनि भाग नलिने भएका छन् ।
उनीहरूले सोमबार नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय गरिसकेका छन् ।
संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा छन् । उनलाई राजीनामा गर्न चौतर्फी दबाब आइरहेको छ ।