प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । उनले आफूले कसैको दबावमा राजीनामा नदिने बताए ।
आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने दृढता प्रकट गरे ।
नेपाल बार एशोसिएशन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राजीनामाको अपेक्षा भइरहेको देखिएको बेला जबराले त्यस्तो अडान दर्शाएका हुन् ।
महाभियोग सामना गर्न ‘तयार’
प्रधानन्यायाधीश जबराले आफू पदबाट बाहिरिने बाटो संविधानमा व्यवस्था रहेको भन्दै महाभियोगतर्फ सङ्केत गरे । प्रधानन्यायाधीश जबराले भने, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो ।’
कसैको दबाव र प्रभावमा पद त्याग नगर्ने उनले बताए । जबराले भने, ‘न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ ।’
त्यसको अर्थ के उनी महाभियोग सामना गर्न तयार छन् त ?
‘यसमा म प्रष्ट छु, म विधि र प्रक्रियाबाट आएको हुँ, विधि र प्रक्रियाबाट जान तयार छु’, उनले भने ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए । तर मन्त्री नियुक्त भएपछि जबराका नातेदार गजेन्द्र हमालले राजीनामा दिएका थिए ।
को हुन् चोलेन्द्र शम्शेर जबरा?
ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि पौष २०७५ मा चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश बनेका थिए ।
उनको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ । उनले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गरेका छन् ।
उनी वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गरेका हुन् । त्यसअघि उनी अधिवक्ताका रूपमा काम गर्थे ।
तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए । बीबीसी न्यूज नेपालीबाट साभार