प्रदेश २ सरकारले अध्यादेशमार्फत सरकार चलाउने प्रयास गर्नु गैरलोकतान्त्रिक र संविधानविरुद्ध भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आरोप लगाएको छ ।
लोसपा नेता तथा प्रदेश २ प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले दुई तिहाई सांसदहरुको समर्थन रहेको सरकारले संसद स्थगित भएको अवस्थामा चोरबाटोबाट अध्यादेश ल्याउनु संविधानसम्वत नभएको बताए ।
प्रदेश सरकारले सस्तो लोप्रियताका लागि विश्वविद्यालय सम्बन्धी २ वटा अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पुर्णरुपमा अलोकतान्त्रिक भएको उनले आरोप लगाए ।
सम्बन्धित समाचारः
विरगञ्ज र सप्तरीमा विश्वविद्यालय स्थापना गर्न प्रदेश २ सरकारद्धारा अध्यादेश सिफारिस
‘दुई तिहाई समर्थनको सरकारले संसदबाटै विधेयक पास गर्नुपर्ने अवस्थामा विधि र व्यवस्थाविरुद्ध अध्यादेश ल्याउने निर्णय भएको छ’, नेता सोनलले भने, ‘यसले प्रदेशसभा सदस्य तथा जनताको अधिकारलाई हनन गरेको छ ।’
सोनलले सांसदहरुको अधिकार छल्ने क्रियाकलापलाई सरकारले यथाशिघ्र सच्याई विधिको शासन कायम गर्न समेत सरकारसंग माग गरे ।
‘प्रदेशसभा तथा त्यसका सदस्यले नीति तथा कानुन बनाउने हो सरकारले होइन’, सोनलले भने, ‘प्रदेश सरकारको गैरलोकतान्त्रिक क्रियाकलापले सांसद तथा नागरिकलाई छल्ने प्रयास गरेको छ ।’
अध्यादेशमार्फत सरकार चलाउन खोजे र संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यन्वयन गरिए लोसपा कडा रुपमा प्रस्तुत हुने उनले चेतावनी दिए ।
प्रदेशको विकाश र सवलीकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै संसदमै विधेयक ल्याएर छलफल गर्न सोनलले माग गरे ।