आईटी आर्मीको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका पुर्वमन्त्री प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवैध र जनविरोधी भएको बताएका छन् ।
प्रचण्डले आफ्नो चुनावी प्रतिबद्धता तथा जनादेश विपरीत कम्युनिष्ट विरोधी तत्वहरुको पुच्छर बनेर आफुहरुमाथि दलीय अनुशासनको नाममा कारवाहीको डण्डा चलाएर जनताको अपमान गरेको साहले बताए ।
लोकतन्त्रिक पद्धतिमा जनताको अदालतबाट तर्सिने प्रचण्डले आगामी निर्वाचनमा जनतालाई जवाब दिनुपर्ने साहको कथन छ ।
तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधिसभाको चुनाव जितेका साहले नेकपा विभाजन हुँदा एमालेमै रहेर मन्त्री बनेपछि माओवादी केन्द्रलाले उनलाई कार्यवाही गरेर सांसद पदबाट निलम्बित गराएको थियो ।
प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनु पर्ने संवैधानिक व्यवस्थाको हवाला दिँदै उपनिर्वाचनको माग गर्दैआएका साहले निर्वाचनमा माओवादी केन्द्रसंग नजाने संकेत गर्दै आगामी निर्वाचनमा प्रचण्डको पत्तासाफ हुने बताए ।
उनले जनतालाई लामो समयसम्म औपचारिक रुपमा जनप्रतिनिधिविहिन बनाइराख्नु निर्वाचन आयोग र सरकारको अक्षम्य अपराध भएको आरोप समेत लगाएका छन् ।
‘यस अक्षम्य अपराधका हिस्सेदारहरुलाई तत्काल नैतिकताको आधारमा राजीनामा गर्न माग गर्दछु’, साहले भनेका छन्, ‘रिक्त स्थानमा यथाशीघ्र चुनाव गराउन सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु।’
नेकपा पुर्नगठनको आन्तरिक गृहकार्यमा जुटेका समाचारहरु आइरहँदा पूर्वमन्त्री साहले रिक्त रहेका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेका हुन् ।