नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् ।
तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाइ छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘वास्तवमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरुबीच जुनक प्रकारको द्धन्द्ध चलेको छ, यो बिडम्बनाको अवस्था हो । प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्व प्रधानन्यायाधीशहरुले जबराले न्यायलय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त ईजलाश बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’
उनले भने, ‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाकोअवस्था भएको बताए ।