नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जना सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न सुझाव दिएका हुन् ।
बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ ।’
यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए ।
बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् ।
सम्बन्धित समाचारः
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आधार छन्ः बिडारी
परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्छः ओली
सडकबाट माग्दैमा राजीनामा दिन्नँ, महाभियोग सामना गर्छुः प्रधानन्यायाधीश जबरा