प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ११ इजलास तोकेका छन् । बुधबारका लागि जबराले संवैधानिकसहित ११ इजलास तोकेका हुन् ।
जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलाससमेत तोकेका छन् । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास तोकिएको हो ।
प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन दिनयता न्यायाधीशहरू इजलासमा गएका छैनन् । आज तोकिएका इजलासमा न्यायाधीश जाने नजाने केही खुलेको छैन । न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् ।
मन्त्रिपरिषद् र संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैंले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् ।
प्रधानन्यायाधीश जबरा भने महाभियोग सामना गर्ने तर राजीनामा नगर्ने बताउँदै आएका छन् ।