बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।
बुधबार दिउँसो विश्वासको प्रस्तावमा मतविभाजन गर्न बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन् । विश्वासको मत नपाउने भएपछि शाक्यले राजीनामा दिएकी हुन् ।
आफ्नो कार्यकाल उपलब्धिमुलक बनाउन साथ दिने सबैलाई उनले धन्यवाद दिइन् ।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन् । नेकपा एमाले विभाजित भई नेकपा एकीकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्यले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो ।
मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् । उक्त प्रस्तावमा कात्तिक ४ गते बागमती प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मत विभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।