बागमती प्रदेशले बिहीबार नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डे साँझसम्म मुख्यमन्त्रीमा नियुक्ति भएर सपथ लिनेछन् ।
अल्पमतमा परेपछि शाक्यले बुधबारको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेकी थिइन् । शाक्यको राजीनामापछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दलहरुलाई सरकार गठनका लागि दावी पेस गर्न आव्हान गरेका छन् ।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आव्हान भए लगत्तै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले गठबन्धनको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
गठबन्धनका दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका थिए ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । बहुमतसहित अर्का प्रदेश सभा सदस्यको दावी नभएमा प्रदेश प्रमुखले पाण्डेलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त र सपथ गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसैबीच गठबन्धनका प्रस्तावित पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार चार सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित गठबन्धनमा रहेका दलहरुको उपनेताहरु रहेको मन्त्रिमण्डल बन्ने छ । मन्त्रिमण्डलका नेकपा (माओवादी केन्द्र) का कुमारी मोक्तान, नेपाली काँग्रेसको कृष्णलाल भँडेल र नेकपा (एकीकृत समाजवादी) कृष्णप्रसाद खनाल शर्मा सहभागी हुनेछन् ।
माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, काँग्रेसले भौतिक पूर्वाधार मन्त्रालय वा स्वास्थ्य मन्त्रालय र एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ ।
पाण्डेले तिहारपछि मन्त्रिमण्डल विस्तार हुने र गठबन्धनको सरकार भएकाले आवश्यकताअनुसार मन्त्रालय विभाजन गरी भागबण्डा गरिने बताए ।