देशैभरी भ्रष्टाचार, अनियमितता र कुशासनको खबर चलेको बेला बारा जिल्लाको सबैभन्दा सानो देवताल गाँउपालिकाले भने प्रदेश २ कै उत्कृष्ट कार्यहरु गरी चर्चामा आएको छ ।
कम श्रोतबाट भौगोलिक विकटतालाई थिचोल्दै उक्त गाँउपालिकाले गरेको उदाहरणीय कार्यका कारण जनजनमा चर्चाको विषय बनेको हो । करिब २५ हजार जनसंख्या भएको उक्त गाँउपालिकाले अहिले शिक्षा, स्वास्थ्य, सडक, भौतिक विकास र सामाजिक उत्तरदायित्वका कार्यहरुमा गरेको प्रगतिले प्रदेश २ कै उदाहरण बनेको हो ।
बुधवार मात्रै देवताल गाँउपालिका अध्यक्ष चन्दन कुमार सिंहले सामाजिक सुरक्षा भत्ता पाउने बृद्धबृद्धाहरुको सहजताका लागि गाँउपालिकास्तरिय बस सेवा सञ्चालनमा ल्याएका छन् ।
दुरदराज गाँउबाट पालिकाको केन्द्रमा रहेको बैंकमा भत्ता बुझ्न आउने बृद्धबृद्धाहरुको समस्यालाई सामाधान गर्न पालिकाको आफ्नै बजेटबाट बस खरिद गरी उनीहरुलाई घरबाट बैंक तथा बैंकबाट घरसम्म निःशुल्क सेवा दिन बार्षिक निति तथा कार्यक्रममै समावेश गरी सेवा प्रदान गरिएको अध्यक्ष सिंहले बताए ।
यसअघि सो पालिकामा रहेको १३ वटा विद्यालयहरुमध्ये २ विद्यालयमा पुर्ण व्यवस्थित रुपमा ‘मल्टिमिडिया क्लास रुम’ निर्माण गरिसकेको छ । ति कक्षा कोठाहरुमा उच्च स्तरको प्रणालीबाट बालबालिकाको सिकाई कार्यलाई निरन्तरता दिइएको छ ।
गाँउपालिकाको ७ वटै वडामा जनस्वास्थ्य चौकी स्थापना भइसकेको छ भने १५ शैयाको अस्पताल निर्माणधिन छ र पालिकाको केन्द्र पिप्राढी गोठमा बर्थिंङ सेन्टर सञ्चालनमा छ ।
तराई–मधेशमै पहिलो पटक कम लागतमा आवत–जावत सहज बनाउन पालिका भित्र ३ वटा झोलुंगे पुलको स्थापना भइसकेको छ भने २ वटा पुल निर्माणधिन रहेको छ ।
देवताल गाँउपालिकाका योजना शाखा प्रमुख अभिनन्दन साहका अनुसार पालिको हरेक वडामा विद्युतीकरण गरि चोकचौराहाहरुमा सोलार बत्ती जडान गरिएको छ ।
नागरिकहरुलाई छिटो छरितो सेवा दिन बारा जिल्लाकै व्यवस्थित र सुविधासम्पन्न पालिका भवन र हरेक वडाको आफ्नै वडा कार्यालय स्थापना भइसकेको समेत साहले बताए ।
शिक्षा, स्वास्थ्य र सडक–नालालाई प्राथमिकतामा राखेर काम गरेको देवताल गाँउपालिकाले सडक तथा नाला निर्माण एवम् भौतिक निर्माणका काममा ठुलो उपलब्धि हासिल गरेको अध्यक्ष सिंहले नेपाली पब्लिकलाई बताए ।
सिंहले ति क्षेत्रका साथै सामाजिक विकाशका लागि पनि विभिन्न योजनाहरु सञ्चालन गरिएको बताए ।
छोरी–बुहारी शिक्षा कार्यक्रमअन्तर्गत विभिन्न कारणले पढाइ छाडेका छोरी तथा बुहारीहरुलाई प्रोत्साहित गरि विद्यालय भर्ना गर्ने र निःशुल्क शिक्षा दिने कार्य समेत गरिएको उनले बताए ।
आत्मनिर्भरताका लागि सिपमुलक तालिम तथा रोजगारमुलक योजनाहरु समेत पालिकाभित्र सञ्चालन गरिएको सिंहले बताए ।
बारा जिल्लाको दक्षिणि भेगमा जिल्लाको भारतसंग जोडिएको देवताल गाँउपालिकाले एम्बुलेन्स, बारुणयन्त्रसेवा समेत दिने गरेको छ ।
गएको साता मात्रै आफ्नै पहलमा त्यहाँस्थित सिद्धार्थ बैंकको एटीएम सेन्टरको समेत सिंहले स्थापना गराएका छन् ।