विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको राजनीतिक दस्तावेज पारित भएको छ ।
विवेकशील साझा पार्टीको बिहवार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष मिश्रले हालै सार्वजनिक गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शिर्षक दिइएको दस्तावेजलाई दुई तिहाइ भन्दा बढी मतले पारित गरेको हो ।
दस्तावेज पढ्न यहाँ क्लिक गर्नुहोस्ः
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
अध्यक्ष मिश्रको राजनीतिक दस्तावेज पारितसँगै विवेकशीलमा फेरि विवाद देखिएको छ, साथै पार्टी फुटको संघारमा पुगेको छ । उक्त प्रस्तावको पार्टी संयोजक मिलन पाण्डले विरोध जनाउँदै आएका छन् ।
आजको बैठकमा पनि विवेकशील साझाका संयोजक पाण्डेको समूह सहभागी थिएन । पाण्डे पक्षको केन्द्रीय कमिटी बैठक ले शुक्रबार बस्दैछ ।
बैठकले अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो ।
यसमा पनि पाण्डेको असन्तुष्टि छ । पार्टी एकलौटी रुपमा चलाउन अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी पार्टीको विधान संशोधन गरिएको पाण्डे समूहको आरोप छ ।
पछिल्लो समय पाण्डले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्न लागेको चर्चा चलिरहेको छ ।
आजको निर्णयले त्यसमा थप बल पुर्याएको पाण्ठले निकट स्रोतले जनाएको छ ।