नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि माओवादी आतंक सुरू भएको बताएका छन् ।
पार्टीको भरतपुर महानगर समितिले शुक्रबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशमा निरंकुशता लाद्न खोज्ने प्रवृत्तिविरूद्ध माओवादी आतंक सुरू भएको बताएका हुन् ।
प्रचण्डले आउँदो चुनावमा आफू चितवनबाट कतै नभाग्ने बताए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन आग्रह गरे ।
‘मलाई काठमाडौंमा भनिएको छ, एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालिकोट जान्छ कि बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरे’, उनले भने, ‘मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन । पहिलो कुरा कुनै भ्रम नरहोस् र त्यो आत्मघाती या आत्मरति पनि केपी ओलीहरूले नगरे हुन्छ । म भाग्ने मान्छे हुँदै होइन । त्यो कुरा ओलीजीहरूलाई राम्रोसँग थाहा छ । त्यही भएर त मलाई खोज्दैखोज्दै आउनुभएको छ चितवन ।’
उनले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ । यो महाभारत को कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ ।’
उनले माओवादी आगामी निर्वाचनबाट ठूलो शक्ति बनेर उदाउने दाबी गरे ।