रितेश पन्थी
विश्व अहिले समस्या नै समस्याले जेलिएको छ । २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीले अझैं पनि विश्राम लिने संकेत गरेको छैन भने बहुसंख्यक जनताले खोप लगाउन बाँकी नै छ ।
तापक्रम वृद्धिसंगै भएको जलवायु संकटले अब मानवले ठुलो समस्याबाट गुज्रिनुपर्ने स्थिति आउँदै छ । संयुक्त राष्ट्रसंघले त आइपिसिसिको प्रतिवेदन आएको केहि दिनपछि मानव जातिको लागि खतराको घण्टी भनिसकेको छ ।
नेपाल विश्वको दुई शक्तिशाली राष्ट्रबिच रहेको छ । वडामहाराजधिराज पृथ्वीनारायण शाहले भनेजस्तै नेपाल दुई ढुंगाबिचको तरुल भएको कुरा हाल नेपालको परराष्ट्र नीतिमै छ । हाल विश्वको दोस्रो अर्थतन्त्रको रुपमा उदाउँदो चीन र निकट भविष्यमै विश्वको तेस्रो अर्थतन्त्र रुपमा देखिन सक्ने भारत हाम्रा दुई मित्र राष्ट्र हुन् । दुवै मित्रराष्ट्र दुई फरक किसिमको प्रणालीमा छन् भने उनीहरूको सम्बन्ध पनि त्यति सन्तोषजनक छैन ।
नेपाल यहाँ दुई छिमेकीबीच रहन पाउनु भाग्य पनि हो भने अभिशाप पनि बेलाबेला हुने गर्छ । यो प्रसङ्ग किन आएको ? भने हामी जतिबेला २०१५ को भुकम्पले त्रसित थियौं, त्यतिबेला नरेन्द्र मोदीको चीन भ्रमणले २०१५ मे १५ मा व्यापारिक प्रयोजनको लागि लिपुलेकको भू–भाग प्रयोग गर्ने सहमति भएको प्रसङ्ग आयो । हाल नक्सामा मात्र भू–भाग नेपालको छ भने वार्तामार्फत समस्या सुल्झाउन अझैं भारत तयार भएको देखिँदैन ।
जलवायु संकट, तालिवानको उदय, अमेरिकाले ब्युताएको क्वाड, अमेरिका अस्ट्रेलिया र बेलायतबिच हालै भएको अकस सम्झौता, चीन–अमेरिका द्वन्द्व, दक्षिण–चीन सागरको विवाद, उदाउँदो चीन, सैन्य प्रतिस्पर्धा, ताइवानको विषयमा भएको द्वन्द्व, रसियाको उदय र नयाँ शितयुद्धको त्रासले गर्दा बदलिँदो परिस्थितिमा नेपालको परराष्ट्र नीति कस्तो हुने र कस्तोलाई कुटनीतिज्ञ बनाएर पठाउने भन्ने कुरा राजनीतिक दलहरुले हेक्का राख्नुपर्छ ।
कुटनीतिज्ञमा हुनपर्ने गुण
कुटनीतिज्ञ भएपछि कुटनीतिक आचारसंहिताको पालना गर्ने, नेपालको कानुन र संविधान बुझेको, नेपाली र अङ्ग्रेजीलगायत अन्य भाषा पनि जानेको हुनपर्छ । कुटनीतिज्ञले देश विदेशका घटनाक्रम सम्भावित परिस्थितिबारे चतुर भएर बुझेर बस्ने गर्नुपर्छ ।
अरु देशमा राजदूत भएर जाने र जान खोज्नेले राष्ट्रिय स्वार्थ र राष्ट्रिय हित हुनेगरी लगानी जुटाउने, आफू गएको राष्ट्रसंग आफ्नो देशको सम्बन्ध चिसिएको छ भने सुधार्ने, सम्बन्ध राम्रो छ भने अझ प्रगाढ बनाउनेतर्फ ध्यान दिनुपर्छ ।
सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगबाट देश हित विपरितका काम हुन नदिने, श्रमिकको समस्या समाधान गर्ने, श्रमिक र त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक परेको सहयोग गर्ने, सम्बन्धित राष्ट्रलाई कामदार चाहिएमा वा आवश्यक पर्ने भएमा श्रम सम्झौता गर्ने व्यवस्था मिलाउने, नेपालको विद्यार्थीलाई जतिसक्दो छात्रवृत्ति दिन त्यहाँको विश्वविद्यालयसंग सहकार्य गर्ने, आफ्नो काम र क्षेत्र तोकिएको देशमा कुटनीतिक सम्बन्ध हार्दिक बनाइराख्ने, त्यहाँ रहेको नेपालीलाई अभिभावकको रुपमा देश छ है भनेर दूतावासमार्फत सहयोग गर्ने, कामदारलाई मर्का परेमा सहयोगीको भूमिका निर्वाह गर्ने काम कुटनितिज्ञको हुन्छ ।
कस्तोलाई पठाउने ?
हाल ३२ देशमा गरी नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ३० दूतावास, तीन स्थायी नियोग, ६ महावाणिज्य दूतावास छन् । ६ महावाणिज्यदूतावास न्युयोर्क (अमेरिका), छेन्दु (चीन ), कलकत्ता (दिल्ली), ग्वाङजाओ (चीन), जेद्दा (साउदी), ल्हासा (चीन ), हङकङमा रहेका छन् । महावाणिज्यदूत अर्थात् कन्सुलेट जेनेरलमा व्यापारसम्बन्धि कार्य हुने सम्बन्धित देशमा व्यापार गर्न सहजीकरण गर्नुपर्छ ।
महावाणिज्यदूतमा अर्थमन्त्रालयको या परराष्ट्रमा अर्थतन्त्र जानेको विज्ञ भएमा पठाउनुपर्ने देखिन्छ । अर्थशास्त्र नभए पनि अर्थतन्त्र बुजेको सहजीकरण गर्न सक्ने, बौद्धिक र चतुर व्यक्तिलाई नियुक्ति गर्नुपर्छ ।
कुटनीतिज्ञ हुन लायकको र कुटनीतिक रुपले काम गर्न सक्ने स्वास्थ र क्षमतावान व्यक्तिलाई राजदूतावास र संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा पठाउनुपर्छ । राजदूत बनाउन सम्बन्धित विषयको जानकार, अर्थतन्त्रको जानकार र स्वच्छ छवि भएको विज्ञ व्यक्तित्वलाई स्थान दिएमात्र देशको प्रतिष्ठा बढ्छ ।
पहुँचवालालाई राजदूत नियुक्त गरिँदा मुलुकको कुटनीतिक सम्बन्ध कमजोर बन्छ ।
पहुँचवालालाई राजदूत नियुक्ति गरिँदा मुलुकको कुटनीतिक सम्बन्ध कमजोर बनेको विश्लेषण गरी सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड तयार पारेको थियो । सरकारले राजदूत नियुक्ति सम्बन्धि मापदण्ड २०७५ बनाएको हुँदा सो अन्तर्गत ५० प्रतिशत राजनीतिक र ५० प्रतिशत करियर डिप्लोमेट अर्थात् परराष्ट्रको कर्मचारीलाई पठाउने भन्ने मापदण्ड बनाइएता पनि काम भने सोअनुसार भएको छैन ।
मापदण्डअनुसार राजदूत हुन कम्तिमा स्नातक उत्तीर्ण गरेको हुनपर्ने, विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नरहेको, लाभको पदमा नियुक्ति पाएको नेपाली अवकाश पाएको १० बर्षपछि मात्र राजदूतमा योग्य हुने, कुनै मुलुकमा राजदूत पद रिक्त भए रिक्त भएको ३ महिना अघिबाट नै नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने, सरकारी सेवाको लागि अयोग्य नठहरिने गरि बर्खास्त नभएको, ३५ बर्ष उमेर पुरा गरेको, फौजदारी कसुरमा सजाय नपाएको, उच्च नैतिक चरित्र भएको, परराष्ट्र नीति र अन्तराष्ट्रिय आयाम बुझेको ,भियना महासन्धिका व्यवस्था र अभ्यासमा जानकार भएको व्यक्तिलाई पठाउन पर्छ भनी लेखिएको छ ।
किन हाम्रोलाई भन्दा राम्रोलाई ?
पत्रपत्रिकामा आए अनुसार विभिन्न मुलुकको २३ वटा नियोग खाली छन् । तिमध्य धेरैमा राजनीतिक थोरैमा परराष्ट्र मन्त्रालयबाट राजदूत नियुक्ति गरिने होला ! त्यसमा पनि परराष्ट्र र राजनीतिक दुवैमा नियुक्ति पाउन परराष्ट्रकै कर्मचारी पनि कतै नपरिने हो कि भन्ने चिन्ताले राजनीतिक दलको नजिक हुन पुगे भन्ने छ । हाम्रो नियति के भयो भन्दा राजनीतिक दलको समर्थनबिना राजदूत मात्र होइन अरुमा पनि स्थान पाउन र नियुक्ति पाउन ठूलै कसरत गर्नुपर्ने भइसक्यो ।
कतिसम्म भने पैसा बुझाएरै लाभको पदमा बस्न खोज्ने खराब परिपाटी बसाल्दै आइरहेको छन्, जुन देशको बिग्रदो साखमा अझ मलजल गर्ने काम हो । एक त मापदण्डअनुसार काम गरिन्न भने अर्को नेताको नजिक हुनेले मात्र मौका पाउने स्थिति बन्दै गए हामी कस्तो संस्कार र विधिको अपेक्षा गर्ने भन्ने हुँदैन र ?
सरकारले राजदूत नियुक्ति विवादित भयो, पहुँचवालालाई राजनीतिक रुपले राजदूत नियुक्ति गर्दा देशको छवि विग्रने र नेताको खल्तीबाट राजदूत नियुक्ति हुन थाल्यो भन्दै यो मापदण्ड बनाएको थियो । पुर्ववर्ती सरकारले आफैंले बनाएको मापदण्ड लत्याउँदै आफन्त, नातागोता भर्तिलाई रोकेन र कतिसम्म भने मापदण्ड संशोधन गर्दै न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनपर्ने हटाएर एसएलसी पास गरेको पुर्वमन्त्रीलाई राजदूत बनाउन खोज्दै गर्दा सर्वोच्च अदालतमा रिट परेर सर्वोच्चले राजदूतको शैक्षिक योग्यता घटाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
यो भन्दा लज्जाको विषय के हुन सक्ला? हाम्रा नेता यतिसम्म नैतिकरुपले पतन हुन्छन भने देशको भविष्य के होला ।
देउवा सरकारले साउन १ गते संसदीय प्रक्रिया छलेर राजदूत नियुक्ति गरेको भन्दै ११ मुलुकको लागि सिफारिस गरेका राजदूतको नियुक्ति खारेज त गर्यो तर सम्बन्धित मुलुकमा एग्रीमोको लागि पत्राचार समेत भएको रैछ । यसरी त देशको छवि खराब भएको छ ।
परराष्ट्रको अनुभवी कर्मचारीलाई भन्दा राजनीतिक दलको झन्डा बोक्नेलाई क्षमता नै नहेरी राजदूत बनाउँदा एक त देशको छवि पनि बिग्रने हुन्छ भने अर्को राजदूतले पनि स्वतन्त्र रुपमा काम नगर्ने, नेतृत्व क्षमता नदेखाउने, घुम्न तम्सिने र देश हितअनुकुल काम नगर्ने भएको छ । परराष्ट्रकै कर्मचारी भएकोमा पनि देखिने गरि काम नभएको पाइन्छ । राजनीतिक नियुक्ति गर्दा सम्बन्धित क्षेत्रको विज्ञलाई नियुक्ति दिनुपर्छ, जुन देशमा इमानदार भएर कर्तव्यनिष्ठ भएर काम गर्ने व्यक्ति अझैपनी धेरै छन् । राम्रो काम गर्नेलाई पुनः अवसर दिन पनि सकिन्छ । राजदूत बनेकाहरुलाई यो यो गर भनि सरकारले सुरुमै कामको भार तोकिदिने र काम पूरा नगरी फर्किनेलाई मिडियाको निगरानीमा राख्न सके अझ सुधार हुने थियो ।
मापदण्डमा राजदूतको कार्यकाल सकिनुभन्दा ३ महिना अगावै नियुक्ति गर्नुपर्ने भनिएता पनि दुई बर्ष हुँदासम्म पनि सरकार दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकाको राजदूत नियुक्तिमा मुखदर्शक बनेर बसेको थियो । कुटनीतिज्ञ दिनेश भट्टराईका अनुसार राजदूत नियुक्तिमा ढिलो गर्नु भनेको सम्बन्धित राष्ट्रलाई र राष्ट्रसंगको सम्बन्धलाई महत्त्व नदिएको भन्ने बुझिन्छ ।
श्रीलंकाको राजदूत बनेका डा.विश्वम्भर प्याकुरेलले परराष्ट्र मन्त्रालयबाट नै सहयोग नभएको र इमेलको रिप्लाइ नभएको जनाउँदै राजिनामा दिएका थिए । यदि उनले भनेको कुरा सत्य हो भने मन्त्रालयको नियत कर्मचारीको शैली मात्र होइन देशको गरिमा र प्रतिष्ठामै आँच आउने कुरा हुन् ।
यसरी राजदूत सरकार पिच्छे परिवर्तन गर्ने र फिर्ता बोलाउने हो भने हामी कस्तो संस्कार बसाल्दै छौँ भनेर गहिरिएर बुझ्नुपर्ने बेला आएको छ । नागरिक मौन हुने र राजनीतिक दलको रजाइँ कायम रहने हो भने देश उभो लाग्दैन । दलहरुले पनि भोलिको देशको भविष्य हेरेर राजदूत नियुक्तिलाई विवादित नबनाएको भए देशले केही भए पनि प्रगति गर्ने थियो कि ? नेतालाई कहिले चेत आउने ?
र अन्त्यमा, कुटनीतिज्ञ डा. भेषबहादुर थापाले एक अन्तर्वार्तामा भनेका थिए ‘राजा महेन्द्र अमेरिकाको क्यालिफोर्निया जाँदा त्यहाँ रहेको नेपाली विद्यार्थी भेटन मन लागेछ । त्यहाँ उनले भेषबहादुरलाई भेटेर भनेछन्, तिमी टाँठो रहेछौं यहाँ पढाइ सकेर देशमै फर्केउ । बरु फर्किने व्यवस्था म मिलाइदिन्छु ।’ उनी नेपाल आउने बित्तिकै योजना आयोगको सचिव हुँदै दुई पटक राजदूत नियुक्त गरिए। यसरी क्षमताको कदर गर्दै राजदूत नियुक्ति गर्न सके नेताले नि सम्मान पाउने थिए कि ?
तिनपा–२ रुपन्देही घर भएका लेखक पन्थी नेशनल ल कलेजमा बिएएलएलबि अध्ययनरत छन् ।