नेकपा एमाले बैठकमा नेता प्रभु साह सहभागी भएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा साह सहभागी भएका हुन् ।
साह यसअघि वर्तमान संरचनामा बस्न नसकिने भन्दै एमाले छोड्ने निचोडमा पुगेका थिए । उनले एमालेको नभई नेकपाको विचार र सिद्धान्तअनुसार पार्टी चल्नुपर्ने माग अध्यक्ष केपी शर्मा ओलीसँग राख्दै आएका थिए ।
उनले एमालेका बैठकहरुमा भाग लिन छाडेका थिए । साथै, गत साउन ५ गते ‘आईटी आर्मी’ नामको एउटा संगठन घोषणा गरेका थिए ।
केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले एक पत्रकार सम्मेलनमा प्रभु साहहरूलाई पार्टी छोड्ने स्वतन्त्रता रहेको बताएका थिए ।
असन्तुष्ट बनेका साहसँग एमालेका विभिन्न नेताले वार्ता गर्दै आएका थिए ।
साह आजको बैठकमा एमालेसँग कुनै सहमति गरेर आए वा आएनन् भन्ने कुरा खुलेको छैन ।