नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ ।
प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि भएको हो ।
कात्तिक १ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ७५ देखि ७८ रुपियाँ तोकिएको थियो भने असोज १ गते ३९ देखि ४२ रुपियाँ प्रति किलोमा बिक्री भएको प्याज दोस्रो साता ६० रुपियाँसम्म पुगेको थियो ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याजको मूल्यमा वृद्धि भएको बताए । उनका अनुसार असोज दोस्रो सातादेखि प्याजको मूल्य निरन्तर वृद्धि भएको हो ।
भन्सारबाट कम प्याज आयात भएको वा आयात हुन बन्द भएका कारण नेपाली बजारमा प्याजको मूल्यमा वृद्धि भएको होइन । भारतीय बजारमा प्याजको मूल्यमा वृद्धि भएको कारण नेपाली बजारमा पनि प्याजको भाउ उकालो लागेको उनले बताए । यद्यपी अहिले ७० देखि ८० रुपियाँको हाराहारीमा प्याज बिक्री भइरहेको श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्ष ०७७–७८ मा भारतबाट करिब एक लाद २७ हजार मेट्रिक टन प्याज आयात भएको थियो ।