नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली आफ्ना हनुमानबाहेक सबैको विपक्षमा उभिने गरेको आरोप लगाएका छन् ।
शनिबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले सो आरोप लगाएका हुन् । उनले ओली आफू बस्न नपाए कुर्सी भाँच्ने मान्छे भएको भन्दै व्यङ्ग्य गरे ।
उनले ओली सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए ।
परमादेशको आदेश दिने पाँच न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने अभिव्यक्ति ओलीले दिनु न्यायालयमाथिको हस्तक्षेप भएको अध्यक्ष नेपालले बताए ।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल नै नभएको नेपालले बताए ।
नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन भएको दाबी गरे ।
उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने दाबी गरे । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।
आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको नेपालको दाबी थियो ।