चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन् ।
संयुक्त राष्ट्र संघमा ताइवानको ’अर्थपूर्ण सहभागिता’ को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन् । रोममा हुने जी–२० शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।
मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ’अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो ।
सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ ।