नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकालसम्म चल्ने बताएका छन् ।
शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले गठबन्धनभित्र राजनीतिक वा अन्य कुनै विवाद नरहेको र गठबन्धन निरन्तर चलिरहेको बताए । उनले भने, ‘शेरबहादुर देउवा नेतृत्वको सरकार पूरा कार्यकाल मज्जाले चल्छ ।’
आसन्न राष्ट्रियसभा निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेरै जाने सैद्धान्तिक सहमति भइसकेको उनले जानकारी दिए । अध्यक्ष प्रचण्डले निर्वाचन प्रयोजनका लागि पात्रका विषयमा मात्र सहमति हुन बाँकी रहेको बताए ।
सर्लाहीको एउटा कार्यक्रममा सहभागी हुन यहाँ आएका उनले देशमा समयपूर्व आम निर्वाचन नहुने बताए । प्रचण्डले अर्ली इलेक्सन नहुने दाबी गर्दै मुलुकको संवैधानिक व्यवस्थाले अर्ली इलेक्सनको परिकल्पना नगरेको र सर्वोच्च अदालतको फैसलाले पनि त्यस्तो सम्भव नहुने प्रस्ट पारे । उनले भने, ‘प्रस्ट हुनुस् र द्विविधामा नरहनुस् अर्ली इलेक्सन हुँदैन ।’
गठबन्धनका नेताहरू यताउता भएकाले बैठक बस्न एक दुई दिन ढिलाइ भएको भन्दै उनले प्रधानन्यायाधीशसम्बन्धी विवादमा छिट्टै गठबन्धनको धारणा बाहिर आउने बताए ।
अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरीत अनावश्यक रूपले अनावश्यक विषयमा प्रतिपक्षले संसद्मा दिनहुँ गतिरोध उत्पन्न गरिरहेकाले वातावरण सहज बनाउन सदन बन्द गरिएको बताए । उनले अदालत र निर्वाचन आयोगले गैरसांसदलाई संसद्को कार्बाहीमा भाग नलिन फैसला गरिसकेको र अर्को पार्टी दर्ता भएर मान्यता पाइसकेपछि पनि संसद्मा गतिरोध उत्पन्न गराउनु उचित नरहेको तर्क गरे ।