नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएलगत्तै नागरिकता ऐन जारी हुने बताएका छन् ।
नेपाल लोकतान्त्रिक शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकता सभालाई शनिबार सर्लाहीमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री देउवा विदेशबाट आएपछि पहिलो काम नागरिकताको गर्ने बताए । उनले भने, ‘सबै प्राविधिक कुरा भन्दिन । हेर्नुहोला प्रधानमन्त्री फर्किएपछिको पहिलो काम नागरिकताको ऐन परित गरिनेछ ।’
उनले नागरिकताको विषय टुंग्याउन खोजे पनि केपी ओलीको पालामा नसकिएको बताए ।
प्रचण्डले माओवादी जसपा एकता गर्न आह्वान गरे । साथै उनले घोषणा सभा जनकपुरमै गर्न पनि प्रस्ताव गरे । ‘ढिलो नगरी यही ठाउँमा आएर पार्टी एकता गरौं, जबसम्म तराई माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार स्थापित हुँदैन,’ उनले भने ।
तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने उनले बताए ।
प्रचण्डले फेरि अर्को आन्दोलन नगरी देशका सबै समस्या समाधान नहुने बताए । ‘यस्तै हो भने फेरि आन्दोलन हुन्छ, विस्फोट हुन्छ म त्यो आन्दोलनको नेतृत्व गर्छु’, उनले भने, ‘अब एउटा आन्दोलन नगरी सबै समस्या समाधान नहुने देखियो ।’