पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरू एकजुट भएका छन्। पेट्रोल र खाना बनाउने ग्याँसको मूल्यवृद्धि भएपछि ६ विद्यार्थी संगठनले मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
शनिबार माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, नेकपा ९एकीकृत समाजवादी० निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ। बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केवल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’
पटक पटक र पछिल्लो पटक गतराति १२ बजेबाट लागु हुने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दै बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरूले चेतावनी समेत दिएका छन्।
शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको थियो । भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको थियो । यस्तै खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि भएको थियो ।