प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले चरणवद्ध आन्दोलन थालेको छ ।
बारले आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन थालेको छ । कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् ।
बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ ।
बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।
सेतोपट्टी प्रदर्शन
बारको कालोपट्टी जुलुसविरुद्ध वकिलहरूको सेतोपट्टी प्रदर्शन गरेका छन् । नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको छ ।
अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।