काठमाडौँको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् ।
दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।
काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए ।
उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपुका छोरा (नाताले दाई) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गरे । भदौ १७ मा हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उनले बताए ।
खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिए पनि अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो छ ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताए । उनले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिए ।
परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ । रासस