बहुमत नपुग्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।
प्रदेश सभा बैठकमा आज विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका अगाडि नै मुख्यमन्त्री आचार्यले राजीनामा दिने भएका छन् ।
एमाले विवाद चकिँदै गर्दा उनी गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनी माधव नेपालको समाजवादी पार्टीमा नगएर एमालेमै बसेका थिए ।
प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य छन् । जसमा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।
त्यहाँ प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । अब प्रतिपक्षी गठबन्धन कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् ।