गत वर्ष २०७७ बैशाख १० गते जनकपुरबाट आफुलाई उपहरण गरि काठमाडौं ल्याईएको आरोप लगाएका जसपाका एक सांसदको एक भिडियो बाहिरिएको छ ।
पुर्व आईजीपी सर्वेन्द्र खनाल, नेकपा एमालेका सांसदहरु महेश बस्नेत र किशान श्रेष्ठले आफुलाई बैशाख १० गते महोत्तरी निवासबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लगाएका सांसद डा.सुरेन्द्र यावदको भिडियो बाहिरिएको हो ।
तत्कालीन केपी ओली सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि तत्कालीन संघीय समाजवादी पार्टीका केही सांसदहरुले पार्टी फोडेर सरकारमा सहभागि हुने हल्ला चलेको थियो ।
सांसद ओमप्रकाश अरगरियाको नेतृत्वका ५ देखि ७ सांसद मिलेर नयाँ दल दर्ता गर्ने र ओली सरकारलाई समर्थन गरि सरकारमा सहभागी हुने योजना सांसदहरुले बनाएका थिए ।
उनीहरुको योजनालाई साथ दिन एमाले सांसद महेश बस्नेत र किशान श्रेष्ठ लागि परेको सञ्चारमाध्यमलगायत आम जनमानसमा चर्चा चलेको थियो । सोही योजनालाई पुरा गर्न सांसद अरगरियाको नेतृत्वमा बस्नेत, श्रेष्ठ र पुर्व आईजीपी खनाल महोत्तरी गएका थिए ।
महोत्तरीबाट सांसद डा.सुरेन्द्र यादव र प्रदेश २ का प्रदेशसभा सांसद कौशल यादव सांसद अरगरिया, बस्नेत, श्रेष्ठ र पुर्व आईजीपी खनालसंगै काठमाडौं आएको मिडियामा आएको भिडियोले देखाएको छ ।
भिडियोमा महोत्तरीबाट काठमाडौं आउने क्रममा सिन्धुलीको एक होटलमा गरिएको खानपिन तथा कुराकानीहरु प्रष्ट रुपमा देख्न सकिन्छ ।
होटलको सीसीटिभी क्यामेराबाट लिइएको उक्त भिडियोमा सांसदहरु स्वतन्त्र रुपले खानपिन, हिँडडुल र बोलचाल गरिरहेको देखिन्छ । अपहरण वा बलजफ्ती भएको अवस्था भने उक्त भिडियोमा देखिँदैन ।
स्वस्फुर्त काठमाडौं आएका सांसद यादव राति काठमाडौंको मेरियट होटलमा रुकेको र बिहान अन्य सांसदहरुसंगै दल विभाजनका लागि छलफल गरि निर्वाचन आयोग जाने योजना रहेको थियो ।
तर एकाबिहानै जसपा नेता पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका केही सहयोगीहरुले सोबारे जानकारी पाएपछि सांसद डा.सुरेन्द्र यादवलाई प्रेसर दिएर दल विभाजनको योजना तुहाएका थिए ।
पछि भट्टराई र अन्य नेताहरुको दवावमा सांसद डा.यादवले आफुलाई सांसदहरु बस्नेत, श्रेष्ठ र पुर्व आईजीपी खनालले बलजफ्ती अपहरण गरेको आरोप लगाएका थिए । यादवले उनीहरुविरुद्ध अपहरणको मुद्दा समेत दायर गरेका थिए ।
तर मिडियामा आएको सीसीटिभी फुटेजले सांसद यादवले भनेझै अपहरण नभएको देखिन्छ । एमाले सांसद महेश बस्नेतले आज आफ्नो सामाजिक संजालमा उक्त भिडियो लिंक शेयर गर्दै त्यसलाई विशुद्ध रुपमा राजनीतिक घटनाक्रम भएको र त्यसमा अपहरण सम्बन्धि कुनै पनि क्रियाकलाप नभएको बताएका छन् ।
भिडियो लिंक- https://www.youtube.com/watch?v=_BS4KRvJ-9A