प्रदेश २ को मन्त्रीमण्डल परिवर्तन गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई जनकपुर पुगेका छन् ।
जसपाबाट सरकारमा सहभागी केही मन्त्रीलाई हटाउन तथा सरकारलाई समर्थन गरेको नेकपा (एकिकृत समाजवादी) लाई सहभागी गराउन उनीहरु जनकपुर पुगेको जसपा स्रोतले बताएको छ ।
जनकपुरमा यादव, डा.भट्टराईसहित जसपा कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतका नेताहरुको बैठक बसिरहेको छ ।
बैठकले सरकारमा नेकपा (एस) को सहभागिता र पार्टीको प्रदेश समितिमा देखिएको विवादबारे निर्णय गर्ने बुझिएको छ । स्रोतका अनुसार प्रदेश २ का कृषि मन्त्री विजय यादवले प्रदेश कमिटीमा बस्न नचाहेकोले उनलाई केन्द्रीय कमिटिमा ल्याइनेबारे समेत चर्चा भइरहेको छ ।
मन्त्री यादवले प्रदेश समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिए पनि तत्कालका लागि जसपा प्रदेश २ को तदर्थ समिति गठन गरी कात्तिक १५ गतेसम्मका लागि अध्यक्ष जिम्मेवारी दिइएको थियो ।
अर्थ मन्त्रालयबाट कृषि मन्त्रालयमा घटुवा गरेपछि यादव पार्टी नेतृत्व तथा मुख्यमन्त्री लालबाबु गद्दीबाट चिढिएका थिए । विश्वस्त सुत्रबाट प्राप्त सुचनाअनुसार तत्कालीन राजपाबाट मन्त्री बनेका पर्यटन मन्त्री रामनरेश राय र वनमन्त्री नवलकिशोर साह तथा फोरमबाट अर्थराज्यमन्त्री बनेकी उषा यादवलाई हटाएर अन्यलाई नियुक्त गरिने गृहकार्य भइहेको छ ।
सरकारलाई समर्थन गरेको नेकपा (एस) समेत सरकारमा सहभागी गराउनका लागि सो गृहकार्य सरु गरिएको स्रोतको दाबी छ । नेकपा (एस) लाई २ वटा मन्त्रालय दिइने यसअघि नै सहमति भइसकेको छ ।
हाल जसपाबाट मन्त्री रहेकाहरुमध्ये कोरोना कालमा प्रदेशमा अति नै भ्रष्ट छवि बनाएका पर्यटन मन्त्री रामनरेश रायलाई हटाउन सजिलो भएकोले नेकपा एकिकृत समाजवादीलाई त्यही मन्त्रालय दिएर भागवण्डा मिलाउने जसपाले तयारी गरेको छ ।
सरकारमा मन्त्रालयको समिरकण मिलाउनकै लागि उपेन्द्र यादवले संघीय सरकारमा महेन्द्र यादवलाई मन्त्री बनाएकोले उनकै कोटमा प्रदेशमा मन्त्री बनेका रामनरेश रायलाई हटाउन लागिएको स्रोतको दाबी छ ।
जसपाबाट मन्त्री रहेका नवलकिशोर साहको ठाँउमा संघीय सरकारमा मन्त्री बन्ने अन्तिम लिष्टमा नअटाएका प्रमोद साहकी श्रीमतीलाई मन्त्री बनाइने समेत स्रोतको दाबी छ ।