सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताएका छन् ।
सोमबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संगठनको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौ विशेषाङ्क विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन एकैचोटी गर्ने वा चरण–चरणका गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
तीनै तहको निर्वाचन एकै चोटी गर्दा राज्यलाई कम भार पर्ने र जनतालाई दुःख पनि कम हुने विषयमा छलफल भएको उनको भनाई छ । यससँगै निर्वाचनमा षड्यन्त्र र चलखेल पनि कम हुनेलगायत आर्थिक बोझ कम भई राजनीतिक दलहरुलाई पनि सहज हुने उनले बताए । उनलेभ ने, ‘यस विषयमा सबैले सुझाव दिनुभयो भने राम्रै हुनेछ ।’
देशमा उपलब्ध संघिय गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न धेरै चुनौतीहरु आइपरेको बताउँदै उनले आगामी दिनमा ऐन निर्माण गर्दै थाती रहेका काम अगाडि बढाउनुपर्ने बताए ।