प्रशासनले देउसी भैलो खेल्ने समय तोकेको भन्दै त्यसको कलाकारहरूले विरोध जनाएका छन् ।
काठमाडौंलगायतका जिल्ला प्रशासन कार्यालयले सूचना निकाल्दै राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने जनाएका छन् । त्यसको कलाकारहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै उक्त नियम मान्न नसकिने भन्दै उल्लंघनको चेतावनी दिएका छन् ।
कलाकार निर्मल शर्माले सरकारले देउसी भैलो खेल्नका लागि तोकेको समयको उल्लंघन गर्ने चेतावनी दिएका छन् । उनले व्याङग्यात्मक र आक्रोशपूर्ण शैलीमा लेखेका छन्, ‘देउसी भैलो ९ बजेसम्म मात्र खेल्न पाउने सरकारको नियम हामी त उल्लंघन गर्दैछौं । पक्राउ परे जेल गइन्छ, छुटेपछि त्याग र बलिदानको गफ दिँदै नेता बन्ने हो ।’
कलाकार दिपकराज गिरीले देउसी भैलो खेल्नका लागि प्रशासनले समय तोकेकोप्रति व्यङ्ग्यसहितको स्टाटस सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘अर्को साल देखि देउसी र भैलीलाई सिडियो कार्यालयले यस्तो सूचना दिन सक्छ ‘हामीलाइ सुरक्षा व्यवस्था मिलाउन ज्याँदै गारो भएकोले घर घरमा गएर देउसी नखेलि, सिधै सिडियो कार्यालयमा आएर देउसी खेल्न अनुरोध गरिन्छ ! शुभकामना ! ! !’
कलाकार रियासा दाहालले प्रशासनको निर्णयको विराध गर्दै संस्कृति मासिने चिन्ता व्यक्त गरेकी छन् ।
उनले विदेशी नयाँ वर्ष र क्रिसमय मनाउँदा समयको कुनै सीमा नतोकिने तर देउसी भैलो खेल्दा किन सीमा तोकिएको भन्दै प्रश्न गरेकी छन् ।
हेर्नुुस् दाहालले सामाजिक सञ्जालमा लेखेको स्टाटसः
के हो यस्तो ? औंसीको रातमा खेलिने यो देउसी भैलो किन लोप गराउन खोजिँदै छ । १०–१२ वर्ष भयो होला क्रमशः समय सीमा लगातार घटाइँदै छ, किन ? तर विदेशी नयाँ वर्ष त रातभर ठमेलमा चल्छ, कुनै सीमा हुँदैन ? क्रिसमसमा पनि रातभर चल्छ त्यसमा नि सिमा हँुदैन ? आखिर यो सीमा तिहारमै मात्र किन ?
किन मासिँदैछन् संस्कृतिहरू ? कति पैसा आउँछ यो विदेशीको चम्चे दलालहरूलाइ ? किन उठँदैनन् आवजहरू ? किन कुनै पनि पार्टीहरू कुनै पनि संस्थारूको मुखमा बुझो लागेको छ ? आखिर किन ?
यहि गतिले हो भने हाम्रा छोरा नातिहरूले नेपालमा हिन्दु धर्म थियो रे, हिन्दुहरूको चाड पर्व पनि हुन्थ्यो रे भनेर पढने छन् । के यसको विरूद आवाज उठाउन सकिँदैन ?
तर, प्रशासन कार्यालयहरूले भने कोरोना संक्रमणको जोखिमलाई मध्यजनर गर्दै समय सीमा तोकिएको स्पष्टीकरण दिएका छन् ।