काठमाडौं — जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष चेतनाथ पौडेल हाल वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
वैदेशिक रोजगारीका लागि कतारमा हुँदा पनि उनले अध्यक्ष पद छाडेका छैनन्, अर्थात् उनी अझैं पनि जिल्ला क्रिकेट संघ सुनसरीको अध्यक्ष नै हुन् । तर, उनले विदेश जानुअघि नै आफू अनुकुलका कैलास विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका छन् ।
त्यसबारे उनले जिल्ला क्रिकेट संघ सुनसरीलाई चिठ्ठी लेख्दै प्रदेश क्रिकेट संघलाई जानकारी गराएका छन् ।
प्रदेश १ को क्रिकेट संघका अध्यक्ष मिङ्मा डण्डू शेर्पाले क्रिकेट संघको अध्यक्ष नै नहुँदा जिल्लामा क्रिकेटको विकासमा असर पुगेको बताए । उनले भने, ‘यो यो राम्रो होइन । जिल्लामा क्रिकेटका गतिविधि ठप्प छन् । यसले क्रिकेट विकासमा असर गर्छ ।’
अध्यक्ष शेर्पाले जिल्ला क्रिकेट संघ सुनसरीमा देखिएको समस्या नेपाल क्रिकेट संघ (क्यान)ले समाधन गर्नुपर्ने बताए ।
जिल्ला क्रिकेट संघ सुनसरीका अध्यक्ष पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका विष्टले सक्रिय भएर काम गरेका छैनन् । जसका कारण जिल्लाका क्रिकेट गतिविधि ठप्प छन् । जसको काम क्रिकेट विकासमा परेको भन्दै खेलाडी चिन्तित छन् ।