नेकपा (एमाले) को १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् ।
आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरे । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उनले जिज्ञासा रखे ।
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराए ।
केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताए । उनले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिए ।
नेकपा (एमाले)को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उद्घाटन सत्रमा एमालेले पाँच लाख जनता उतार्ने योजना बनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने कार्यक्रम तय भएको छ । यस स्थानको अध्ययनका लागि केन्द्रको थप टोली केही दिनमा आउने एमाले चितवनले जनाएको छ ।