यस वर्ष तिहारका लागि करिब साढे ३ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपालमा आयात भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोज सम्ममा ३ अर्ब ४८ करोड २ लाख ११ हजार ६२५ रुपैयाँ बराबरको भाइ मसला भित्रिएको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्षको तीन महिनाको अवधिको तुलनामा यो बर्ष १ अर्ब ९२ करोड ३ लाख रुपैयाँ बढी रकमको मसला नेपाल भित्रिएको छ ।
विभागका अनुसार तिहारका लागि लक्षित गरेर ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडा र विभिन्न प्रकारका चकलेट, क्यान्डी लगायतका सामान विभिन्न मुलुकहरूबाट नेपाल भित्रिने गरेको छ ।
यस अवधिमा ३ करोड २६ लाख ६८ हजार ३९३ किलो नरिवल, काजु, बदाम, आलमण्ड, ओखर, पिस्ता, सुपारी, केरा, खजुर, छोकडा र किसमिस लगायत आयात भएको छ । यी सामाग्री मिसाएर तिहारका लागि भाइ मसला बनाइन्छ । भाइ मसला तिहारको अन्तिम दिन दिदिबहिनीहरुले दाजु भाइलाई पूजा गरेर टिका लगाए पछि सगुनको रुपमा दिन गरिन्छ ।
गत वर्षको यसै अवधिमा १ अर्ब ५५ करोड ९८ लाख ४७ हजार १३२ रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार ७५१ किलोको भाइ मसलाजन्य सामाग्री नेपालमा आयात भएको थियो । यो बर्ष गत वर्षभन्दा २ करोड ६ लाख ४९ हजार ६४२ किलो धेरै अर्थात् ३ करोड २६ लाख ६८ हजार ३९३ किलो भाइ मसला आयात भएको हो ।