तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका सहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ ।
सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुने गर्छ । फूल मालाको माग बढेसँगै धनगढीलगायतका सहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताए । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यपारी अशोक थापाले बताए । स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोट रु १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा रु ६०÷७० सम्म पर्ने गरेको छ ।
सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिनुभएकी स्थानीय अनिता जोशीले भने , “यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ ।” कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् ।
कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ । तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुटरूपमा केही व्यक्तिले पुष्पखेती व्यावसायिकरूपमा गर्ने गरेको भए पनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ ।