सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द थापाले जानकारी दिए ।
मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वली, यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वली रहेका छन् ।
त्यस्तै सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ ।
मृतक दुई जनाको सनाखत हुन सकेको छैन ।
गम्भीर घाइतेहरूलाई हेलिकप्टरमार्फत नेपालगञ्ज र काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
४० जना सवार रहेको बस सडकदेखि २०० मिटर तल खोलामा खसेको छ । तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।
चालक फरार छन् । सडकको खराब अवस्था र तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीको छ ।