झापाको बिर्तामोड र मेचीनगरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भाइटिकाको दिन पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि इस्टेट अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको रातो रङको पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटरमा सवार मेचीनगर– १० निवासी १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको र उनका बुबा स्कुटर चालक मेचीनगर–१० निवासी ४२ वर्षीय डिल्ली कार्की, नम्बर नखुलेको मोटरसाइकलको पछाडि सवार हल्दिबारी गाउँपालिका–४ निवासी २१ वर्षीय पिजेश लामा घाइते भएका छन् ।
घाइतेको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक हल्दिबारी– ४ निवासी २५ वर्षीय नरेश तामाङ फरार रहेकोले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ स्थित तेलीवारिमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोक्किँदा प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचीनगर–८ निवासी १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको डिएसपी राकेश थापाले बताए ।
उनको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी प्रदेश १–०४–०१४ प ३३४५ नम्बरको मोटरसाइकल चालक मेचीनगर– ८ निवासी २१ वर्षीय अनीश गिरी, प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी २१ वर्षीय निकेश शिवकोटी, सोही मोटरसाइकलमा पछाडि सवार मेचीनगर– ८ निवासी २१ वर्षीय प्रवीण मेचे घाइते भएका छन् ।
उनीहरूको विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।