सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको फेसबुक एकाउण्टबाट ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ अथार्त दुबईको शेख दरबार अगाडि लेखिएको स्टाटससहित फोटो पोष्ट भयो ।
उक्त भेरिफाइड फेसबुक एकाउण्ट प्रधानमन्त्री शेरबहादुर देउवाको भए पनि पोष्ट भएको फोटो अर्काकै थियो र लेखिएको थियो, ‘इन्फ्रन्ट अफ शेख प्यालेस दुबई’ ।
पछि उक्त स्टाटससहितको फोटो पोष्ट भएको केही मिनेटमै डिलेट गरियो । प्रधानमन्त्री देउवाको फेसबुक एकाउन्ट ह्याक भएर उक्त पोष्ट भएको अनुमान धेरैले गरेका थिए ।
तर, फेसबुक एकाउण्ट ह्याक नभएर प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) मनबहादुर धितालले प्रधानमन्त्रीको फेसबुक दुरुपयोग गरेको खुलेको छ । धितालले आफ्नो एकाउण्टबाट अपलोड गर्ने क्रममा प्रधानमन्त्री देउवाको एकाउण्टबाट आफ्नो फोटो पोष्ट गरेका थिए । धिताल देउवाको सुरक्षामा लामो समयदेखि पीएसओको रुपमा खटिँदै आएका छन् ।
बालुवाटार स्रोतका अनुसार धितालले प्रधानमन्त्रीको फेसबुक चलाउँदै आएका छन् । सामान्यतया प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेज निजी सचिवालयमार्फत सञ्चालन गर्ने गरिन्छ । तर, सल्लाहकार समूह र सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाको फेसबुक एकाउण्ट पीएसओ सई धितालले चलाउँदै आएको खुलेको छ ।
विभिन्न जिल्लाका कार्यक्रममा जाँदा प्रधानमन्त्री देउवाको गतिविधि अपडेट गर्न सजिलो होस् भनेर धिताललाई देउवाको फेसबुक पेजको पहुँच दिइएको बालुवाटार स्रोतको दाबी छ ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीका कारण पनि उनको आधिकारीक आइडीबाट गतल पोष्ट भएका थिए ।