कोरोना संक्रमण कम हुँदै गए पनि जिल्ला प्रशासन कार्यालयले काठमाडौंले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न निश्चित मापदण्ड तोकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजालका अनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, स्वास्थ्यका मापदण्ड पालनादेखि क्षमताको ५० प्रतिशतमा मात्रै व्यवसाय सञ्चालन गर्नुपर्छ ।
तर, काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबले प्रशासनले तोकेका मापदण्ड पालना नगरेको पाइएको छ । नेपाली पब्लिकलाई प्राप्त भिडियो र फोटोमा एलओडी क्लबमा सामाजिक दूरी कायमदेखि सामान्य स्वास्थ्यका मापदण्ड पनि गरिएको छैन ।
प्रशासनले ५० प्रतिशत क्षमतामा व्यवसाय सञ्चालन गर्नुपर्ने भने पनि एलओडी क्लबले क्षमताभन्दा बढीमा सञ्चालन गरिरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न निश्चित मापदण्ड तोकिएको जानकारी दिए । तर, त्यसको पालना हुन नसकेको उनले बताए ।
उनले रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पालना नगरे र प्रशासनको निर्देशन अवज्ञा गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिए ।
एलओडी क्लबले स्वास्थ्यका मापदण्ड पालना नगरेको र प्रशासनको निर्देशन अवज्ञा गरेको पाइएमा सञ्चालनलाई बोलाएर सोधपुछ गर्नेदेखि कारवाही गर्ने चेतावनी रिजालले दिए ।
मुखदर्शक प्रशासन
तर, रिजालले कारवाहीको चेतावनी दिइरहँदा प्रशासन भने मुखदर्शक बन्ने गरेको छ । रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा प्रहरी प्रशासनले बाहिरबाट सुरक्षा पहरा दिइरहेको हुन्छ ।
स्रोत भन्छ, ‘प्रशासनको आडमा क्लबहरूले नियम कानूनको अवज्ञा गरेका हुन्छन् । त्यति हुँदा पनि प्रहरी प्रशासन देखे पनि नदेखे जस्तो गर्छ । क्बल सञ्चालकसँग सेटिङ मिलाएर आँखा चिम्लेर बसेको हुन्छ ।’
स्रोतका अनुसार रात्रीकालीन व्यवसाय सञ्चालकले सिडीओसहित जिल्ला प्रशासनका कर्मचारीसँग सेटिङ मिलाइसकेका हुन्छ अनि स्वास्थ्यका मापदण्ड र प्रशासनको निर्देशन अवज्ञा गर्दै क्लब सञ्चालक ढुक्कले व्यवसाय सञ्चालन गर्छन् ।
प्रहरी प्रवक्ता बसन्त कुँवर त्यसको निगरानी गर्ने जिम्मेवारी महानगरीय प्रहरी परिसरको रहेकोको परिसरले नै त्यसको निगरानी गर्नुपर्ने भन्दै पन्छिए ।
यता, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले कोरोना संक्रमणको जोखिमका कारण क्लबहरू क्षमताको ५० प्रतिशत मात्रै सञ्चालन गर्नुपर्ने विषय निगरानी गरिरहेको दाबी गरे । तर, परिसर प्रवक्ता बस्नेतको दाबी र एलओडी क्लबको अवस्थामा भने आकाश जमिनको फरक देखिन्छ ।
कोरोना कहरपछि अन्य व्यवसायजस्तै रात्रीकालीन व्यवसाय पनि पूरानै अवस्थामा फर्किँदैछ । तर, स्वास्थ्यका मापदण्ड र प्रशासनको निर्देशन पालना नगर्दै व्यवसाय सञ्चालन गर्ने र प्रशासन सेटिङ मिलाएर मुखदर्शक बन्ने हो भने फेरि महामारी फेलिने जोखिम रहेको स्वास्थ्यसम्बन्धि जानकारहरू बताउँछन् ।
यस्तै किसिमका लापरवाही गर्दा इटालीलगायतका देशमा कोरोनाले भयावह रुप लिएको छ । त्यसकारण इटालीको अवस्था सहने कि समयमै सजग बन्ने ? यसतर्फ प्रशासन र क्लब सञ्चालक गम्भीर हुनुपर्छ ।
हेर्नुस् भिडिओ: