सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ ।
सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथि एमालेका महासचिव ईश्वर पोखरेललाई बनाएको विषयमा सत्ता पक्ष र एमालेका कार्यकर्ताबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका स्थित स्टल बजार, जुनारचोक, बसपार्क, गेवाङ्गोला पुल, हस्पिटल रोड क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको बताए । बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
उक्त क्षेत्रमा कुनै प्रकारका सभा, समारोह तथा जुलुस नगर्न प्रशासनले भनेको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दल र एमालेबीच विवाद हुँदा सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहानैदेखि तनावग्रस्त बनेको थियो । कमलामाई नगरपालिकाले पोखरेललाई सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको रुपमा बोलाएको थियो । त्यसको सत्ता गठबन्धन दलले विरोध गरेका छन् ।
बुधबारको कार्यक्रमका लागि पोखरेल मंगलबार नै सिन्धुली आइपुगेका थिए ।