निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो ।
अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई यो फिल्म प्रति ठूलो आशा रहिरहँदा उनीहरुको आशालाई फिल्मले सही साबित गरिदिएको छ ।
यो फिल्म रिलिजको छोटो समयमा नै सय करोड क्लबमा प्रवेश गर्ने फिल्ममध्ये एक बनेको छ । यो फिल्मले बक्सअफिसमा कैयौं रेकर्ड पनि कायम गरेको छ ।
यो फिल्म सन् २०२१ मा सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म बनेको छ । सय करोड क्लबमा प्रवेश भएको यो फिल्म अक्षयको १५ औं फिल्म बनेको छ । जबकी रोहित शेट्टीको ९ औं र कटरीना कैफको ८ औं फिल्म बनेको छ ।
कोभिड–१९ को प्रतिबन्धको नियमसँग भारतका केही मुख्य बजारका थिएटर ५० प्रतिशत अकुपेन्सीमा खोलेपछि पनि पूर्व–कोभिड समयको तुलनामा सय करोड क्लबमा प्रवेश गर्नु एउटा ऐतिहासिक उपलब्धि मानिएको छ । फिल्ममा अजय देवगन, कटरीना कैफ र रणवीर सिहकाे पनि अभिनय छ ।