नेपाली महिला क्रिकेट टिमको ढाकादेखि काठमाडौंसम्मको फ्लाइट छुटेको छ ।
कोभिड प्रोटोकल पालना नगर्दा नेपाली महिला क्रिकेट टिमको ढाकादेखि काठमाडौंसम्मको फ्लाइट छुटेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उक्त कुरामा खेद व्यक्त गर्दै क्यानले त्यसबारे ट्रिम व्यवस्थापनसँग स्पष्टिकरण सोधिएको जनाएको छ ।
विदेशबाट नेपाल फर्कने सबै यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य छ । ७२ घन्टाअघिसम्मको पिसिआर रिपोर्ट देखाएर मात्र नेपाल आउन पाइन्छ । तर बिहीबार नेपाल फर्कन लागेको नेपाली टिम पिसिआर रिपोर्ट नबोकी बंगलादेशको राजधानी ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।
विमानस्थलका कर्मचारीले नेपाली टिमलाई भित्र छिर्न दिएका थिएनन् । नेपाली टिमको पिसिआर परीक्षण नै गरिएको थिएन ।
फ्लाइट छुटेपछि राष्ट्रिय महिला क्रिकेट टिम ढाकादेखि सडक हुँदै नेपाल आउँदैछ । टिम बिहीबार साँझसम्म नेपाल आइपुग्ने बताइएको छ ।
युएईमा नोभेम्बर २२ तारिखदेखि आयोजना हुने टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि नेपाली महिला क्रिकेट टिम बंगलादेश गएको थियो । त्यहाँ नेपाली महिला क्रिकेट टिमले स्थानीय टिम बंगलादेश कृरा शिक्षा प्रतिष्ठानविरुद्ध तिन वटा टि–२० को सिरिज २–१ ले जितेको थियो ।
नेपाली महिला क्रिकेट टिम नोभेम्बर १४ तारिखमा कतारसंग टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न प्रस्थान गर्ने तलिका रहेको छ । कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तिन वटा टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ ।
सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि–ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो ।