टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी १० महिने छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।
ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले दक्षिण भारतको हैदराबाद सहरमा पक्राउ गरेको हो । एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए ।
दिल्ली महिला आयोगले पनि दिल्ली प्रहरीलाई १० महिने बालिकाविरुद्ध दिइएको धम्कीबारे पत्र पठाएको थियो । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अहिले पक्राउ परेका व्यक्ति हैदरावादमा बस्ने २३ वर्षीय इन्जिनियर हुन् ।
ती प्रयोगकर्ताहरूले कोहली र उनकी अभिनेत्री पत्नी अनुष्का शर्माविरुद्ध पनि अपमानजनक टिप्पणी गरेको बताइएको छ ।
उनले दिएको भनिएको धम्कीका स्क्रीशटहरू भाइरल भएपछि ती व्यक्तिले ट्विटरमा नाम फेरेर पाकिस्तानी नागरिकका रूपमा प्रस्तुत गर्न खोजेको बताइन्छ । तथ्यजाँच गर्ने एउटा भारतीय वेबसाइटले पछि ती व्यक्ति भारतीय नै भएको पत्ता लगाएको थियो ।