प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिस्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।
न्यायाधीशहरुले इजलास बहिस्कार जारी राखेका कारण आज दुई वटा इजलासबाहेक अन्य कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन । आज ९ वटा इजलासमा पेशी तोकिएका १ सय ७७ मुद्दामध्ये दुई वटा एकल इजलासमा एक÷एक गरी दुई वटा बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्र सुनुवाइ भयो ।
सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्ने अडान राख्दै आएका छन् ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छन् ।
यसैवीच प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोधका कार्यक्रम जारी राखेको नेपाल बार एशोसिएशनले शुक्रबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।
यस्तै, नेपाल बारले भोलिदेखि सर्वोच्च अदालतको कुनै पनि इजलासमा बहस नगर्ने र बेन्च बहिष्कार गर्ने जनाएको छ ।
यसैगरी, प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरुलाई अनुरोध समेत गरेको छ ।
बारले आज गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा महासचिव लिलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याललगायत ५ जना घाइते भएको उपाध्यक्ष मानबहादुर रुम्दालीले जानकारी दिए ।
प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश र कानुन व्यवसायीको विश्वास गुमाइसकेको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ ।